Header Ads

Laliguras Breaking News:
Loading...

सीके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश


लहान, चैत ११ । राज्यविरुद्ध संगठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सीके राउत)लाई सिरहा अदालतले शुक्रबार पाँचौंपटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ ।
गत माघ ५ गते सिरहाको लहानमा आयोजित सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोपमा धनुषाको जनकपुरबाट पक्राउ परेका राउतलाई पहिलोपटक गत माघ २१ गते १० दिनसम्म थुनामा राख्न आदेश दिएको थियो ।
यसअघि, सिरहा जिल्ला अदालतले दोस्रोपटक फागुन १ गते १० दिन, तेस्रोपटक फागुन ११ गते १० दिन र चौथोपटक फागुन २१ मा २० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
पाचौंपटक शुक्रबार चैत ११ गते अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।
अन्तिमपटकका लागि शुक्रबार अदालतले थपेको १० दिनको म्यादभित्रै अनुसन्धान सम्पन्न गरेर सुनुवाइका लागि मुद्दा अदालतमा पेस गर्ने प्रहरी उपरीक्षक कोइरालाले बताए ।
पक्राउ परेका राउतमाथि राज्यविरुद्धको संगठित अपराधअन्तर्गत् प्रहरीले मुद्दा चलाएको हो ।
सप्तरीको महदेवा गाविस घर भइ जनकपुरमा कोठा भाडा लिएर बस्दै आएका राउतलाई गत माघ २० गते जनकपुरस्थित माछाबजारनजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको थियो ।
राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । तर, उनी उक्त मुद्दामा धरौटीमा छुटेका थिए ।
राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६ मा कसैले नेपालको सार्वभौमसत्ता, अखन्डता वा राष्ट्रिय एकतामा खललपार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद हुने व्यवस्था रहेको कानुन व्यवसायीले बताएका छन् ।
यसैबीच, डा राउतलाई म्याद थपका लागि अदालत लैजानेक्रममा सदरमुकाम सिरहाबजारमा ढुंगामुढा गर्न खोज्ने राउत समर्थित एकजनालाई पक्राउ गरिएको जिप्रका, सिरहाले जनाएको छ । रासस

No comments

Theme images by Maliketh. Powered by Blogger.